शब्दको रिहाई

(June 7, 2020 / जेष्ठ २५, २०७७)

घटना घटेपछि प्रतिक्रिया जनाउनु अघिको क्षणको शब्द

प्रतिक्रिया जनाउने समय कुर्दा-कुर्दै गर्भमा गाभिएका शब्द

कसैका चोरी औंला, कसैका अनुत्तर,

कसैका सुस्केरा, कसैका तर्केका नजर,

कसैका मन्द टाउको हल्लाई, कसैका आक्रोश,

कसैका दुर्व्यवहार अनि कसैका हिंसाले पहरा दिएका शब्द 

शायद,

रुद्रघण्टीमा गई अलझन्छन्,

तप्कन लागेको कलमको मसीमा जिद्दिगरी अडिन्छन्,

चुहिन लागेको कुचीको रङ्गमा जम्छन्,

संगीतकारको ‘सा’ कुर्दै अनुच्चारित बस्छन्,

सपनामा अभिव्यक्ति खोज्छन्,

मस्तिष्कमा निस्फिक्री खेल्छन् 

वा सुध्रिन नपाएका फरार कैदीसरी बेलाबखत सर्वत्र घोच्न उत्रिन्छन् 

शायद,

ती सारा शब्द साँच्चै रिहा,

मन फाटेपछी मात्र हुन्छन्।